प्यूठान — नौबहिनी गाउँपालिकाले लुङ खोला क्षेत्रका विभिन्न घाटहरूबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन तथा निकासी कार्य आगामी असार १ गतेदेखि लागू हुने गरी पूर्ण रूपमा बन्द गर्ने भएको छ।
नौबहिनी गाउँपालिकाको कार्यालय र स्वीकृत बोलपत्रदाता श्री एन. के. निर्माण सेवा बीच मिति २०८२/०७/०९ मा भएको ठेक्का सम्झौता (ठे.नं. ०४-NRM/SQ/G/2082/083) अनुसार लुङ खोलाका पिनारा खोला, मुलघाट, कुनौटा क्षेत्र तथा अधेरी/अमिलढुङ्गा लगायतका स्थानहरूबाट नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण गर्ने कार्यादेश अवधि २०८३ साल जेठ मसान्तसम्म मात्र कायम रहेको थियो।

गाउँपालिकाले स्वीकृत वातावरणीय परीक्षण प्रतिवेदन (IEE) का प्रावधान, सम्झौता शर्त तथा वर्षायाममा उत्पन्न हुनसक्ने वातावरणीय जोखिमलाई मध्यनजर गर्दै २०८३ जेठ ३१ गते राति १२:०० बजेदेखि लागू हुने गरी आगामी २०८३ भाद्र मसान्तसम्म सम्पूर्ण उत्खनन तथा निकासी कार्य पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।
साथै, चालु आर्थिक वर्षका लागि स्वीकृत परिमाणभित्र रही सीमित समय मात्र बाँकी रहेकाले स्थानीय विकास निर्माण तथा व्यक्तिगत प्रयोजनका लागि आवश्यक ढुङ्गा, गिट्टी र बालुवा नियमानुसार राजस्व बुझाई समयमै व्यवस्थापन गर्न गाउँपालिकाले सरोकारवालाहरूलाई आग्रह गरेको छ।
गाउँपालिकाले निषेधित अवधिमा अवैध रूपमा उत्खनन, निकासी वा डम्पिङ गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी पनि दिएको छ। ट्रयाक्टर र ट्रिपर प्रयोग गरी हुने अवैध ढुवानीमा क्रमशः ५ हजार र १० हजार रुपैयाँ जरिवाना लगाइने तथा पुनरावृत्तिमा थप जरिवाना गरिने जनाइएको छ।
त्यस्तै, नदीको धार परिवर्तन हुने गरी वा एक्स्काभेटर तथा डोजरजस्ता भारी उपकरण प्रयोग गरी अवैध उत्खनन गरेको पाइएमा मेसिनरी औजार जफत गरी कानुनी कारबाही अघि बढाइने गाउँपालिकाले स्पष्ट पारेको छ।
यस निर्णयसँगै लुङ खोला क्षेत्रका नदीजन्य पदार्थ उत्खनन गतिविधि असारदेखि वर्षायामभर रोकिँदा स्थानीय निर्माण कार्य र आपूर्ति व्यवस्थापनमा केही प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।

