आर्थिक वर्ष २०८३/८४ का लागि प्युठान जिल्लाका विभिन्न पुल, सडक, खानेपानी तथा शहरी पूर्वाधार आयोजनामा करोडौं रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ। सार्वजनिक बजेट विवरणअनुसार जिल्लाका विभिन्न स्थानीय तहलाई समेट्ने गरी रणनीतिक महत्वका आयोजनाहरूमा रकम छुट्याइएको हो।

पुल निर्माणतर्फ झिमुक खोला पुल (अर्मार्खा), अरडखोला–बेटाकुरा पुल, जारिखोला पक्की पुल, गौमुखी क्षेत्रको झिमुक खोला पुल, पथिम–रामी खोला पुल तथा साँथे खोला पुल लगायतका आयोजनाका लागि समग्र रूपमा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस्तै माण्डवी–मल्लरानी जोड्ने तथा गौमुखीका विभिन्न वडालाई जोड्ने झोलुङ्गे पुल आयोजनाका लागि पनि समग्रमा ३ करोड रुपैयाँ बजेट राखिएको छ।

खानेपानी क्षेत्रतर्फ बिजुवार बृहत खानेपानी आयोजना, स्वर्गद्वारी बृहत पम्पिङ खानेपानी आयोजना, नौबहिनीको नेवारा लुङ लिफ्ट खानेपानी आयोजना तथा प्युठान नगरपालिकाका विभिन्न वडामा सञ्चालन हुने बृहत खानेपानी आयोजनाका लागि कुल ७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ।

शहरी विकास कार्यक्रमअन्तर्गत प्युठान बजार, भिङ्ग्री बजार तथा स्वर्गद्वारी क्षेत्रका शहरी पूर्वाधार निर्माणका लागि बजेट छुट्याइएको छ। प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकामा एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्न समेत रकम विनियोजन गरिएको छ। साथै नयाँ शहर कार्यक्रमअन्तर्गत भिङ्ग्री क्षेत्रमा सडक स्तरोन्नति, सामुदायिक भवन निर्माण तथा बस्ती सुधारका कार्यका लागि पनि बजेट सुनिश्चित गरिएको छ।

सडक पूर्वाधारतर्फ खिल्जी–जुडा–चेरनेटा हुँदै रोल्पा सिमाना जोड्ने सडक, प्युठान–बहाने–रजवारा–अग्लुङ सडक, सिमल्टारी–पञ्चमीपोखरा–अग्लुङ सडक लगायतका रणनीतिक सडक आयोजनामा जनही ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस्तै मुलचौर–लाकुरी–प्युठान सडक, लुङ–बहाने–ओखरकोट सडक, नयाँगाउँ–स्वर्गद्वारी–खाल सडक तथा अन्य ग्रामीण सडक आयोजनामा पनि करोडौं रुपैयाँ बराबरको बजेट राखिएको छ।

त्यसैगरी गर्तुड खोला, जारिखोला, सौतामारे–गतिना, झाँक्रीस्थान–काक्रेखोला, मुलघाट, अरडखोला बेल्टाकुरा तथा जुडापाटा–घुस्टुड मोटरेबल पुल आयोजनाका लागि समग्र रूपमा ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। शहरी सडक मर्मत, नियमित तथा आवधिक मर्मत कार्यका लागि थप १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

बाग्दुला–मच्छी–पुर्कोट सडक, बाग्दुला–दम्मी–बहाने सडक, चेर्नेटा–बरौला सडक तथा मच्छी–लिबासे सडक लगायत ग्रामीण सडक सञ्जाल विस्तार र स्तरोन्नतिका योजनाहरू पनि बजेटमा समेटिएका छन्। यी आयोजनाले जिल्लाको यातायात, खानेपानी र शहरी विकास क्षेत्रमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

Avatar
Website |  + posts