सामाजिक सञ्जाल प्लेटफर्महरू फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा शुक्रबार साँझदेखि विश्वव्यापी प्राविधिक समस्या देखिएको छ। समस्याका कारण विश्वभरका करोडौं प्रयोगकर्ताले यी सेवाहरू सामान्य रूपमा प्रयोग गर्न कठिनाइ भोगिरहेका छन्।
प्रयोगकर्ताहरूले फेसबुक र इन्स्टाग्राममा अटोमेटिक लगआउट हुने, पोस्ट तथा स्टोरीहरू नखुल्ने, लाइक, कमेन्ट र सेयर गर्न नमिल्ने, मेसेन्जरमा सन्देश पठाउन तथा प्राप्त गर्न समस्या हुने लगायतका गुनासा गरेका छन्। कतिपय प्रयोगकर्ताले सही आइडी र पासवर्ड प्रयोग गर्दा पनि खातामा लगइन गर्न नसकेको बताएका छन्।
यी तीनवटै सेवा सञ्चालन गर्ने Meta Platforms अन्तर्गतका प्लेटफर्महरूमा एकै समयमा समस्या देखिएपछि यो विश्वव्यापी प्राविधिक अवरोध भएको अनुमान गरिएको छ। विभिन्न देशका प्रयोगकर्ताले सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यममार्फत समस्या भोगिरहेको जानकारी साझा गरिरहेका छन्।
प्राविधिक समस्याको कारणबारे कम्पनीले तत्काल विस्तृत जानकारी सार्वजनिक नगरे पनि सम्बन्धित प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको बताइएको छ। समाचार तयार पार्दासम्म सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन सकेको छैन।विश्वभर करोडौं मानिसले दैनिक रूपमा प्रयोग गर्ने फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा आएको यस अवरोधले सञ्चार, व्यवसायिक प्रवर्द्धन तथा सूचना आदानप्रदानमा समेत प्रभाव पारेको छ। प्रयोगकर्ताहरूले सेवा पूर्ण रूपमा पुनः सञ्चालनमा आउने प्रतीक्षा गरिरहेका छन्।

