प्युठान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठानको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ। जिल्ला कार्यसमितिको पदाधिकारी तथा सदस्य चयनका लागि भएको उक्त निर्वाचनमा कुल २०३ मत खसेको थियो, जसमध्ये २०२ मत सदर भई गणना गरिएको निर्वाचन समितिले जनाएको छ। मतपरिणाम अनुसार जिल्ला सभापति पदमा विकास पोखरेल अत्यधिक मतका साथ विजयी हुनुभएको छ। पोखरेलले १५३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी बम बहादुर सुनारले ४४ मत मात्र प्राप्त गर्नुभयो।
त्यसैगरी, उपसभापति पदमा केशव बहादुर महतरा १५९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी दल बहादुर के.सी.ले ३७ मत प्राप्त गर्नुभएको छ। पार्टीको महत्त्वपूर्ण मानिने सचिव पदमा यज्ञविर पाण्डे १०६ मतका साथ निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी बल बहादुर महतराले ८१ मत प्राप्त गर्नुभयो। सहसचिव पदमा भने ओमहरि भट्टराई ११९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी मदन कुमार पोखरेलको पक्षमा ५० मत मात्र खस्यो।
यस्तै सदस्य पदका लागि भएको प्रतिस्पर्धाबाट विशाल पौडेल, शंकर भण्डारी र शिशिर रिजाल विजयी हुनुभएको छ। चुनावी मैदानमा रहेका सदस्यहरूमध्ये विशाल पौडेलले ११६ मत, शंकर भण्डारीले ७४ मत र शिशिर रिजालले ५६ मत प्राप्त गर्दै कार्यसमिति सदस्यमा आफ्नो स्थान सुरक्षित गर्नुभएको हो। सदस्यकै अन्य प्रतिस्पर्धीहरू रेगम बहादुर पुरीले ५६ मत, मदन भण्डारीले ५३ मत, मिनराज सुवेदीले १८ मत र खुम बहादुर खत्रीले ९ मत प्राप्त गर्नुभएको थियो। बराबर ५६ मत प्राप्त गरेका रिजाल र पुरीमध्ये प्राविधिक प्रक्रियामार्फत रिजाल विजयी बन्नुभएको हो। निर्वाचन सम्पन्न भएसँगै रास्वपा प्युठानले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति पाएको छ र नवनिर्वाचित टोलीलाई स्थानीय नेता तथा कार्यकर्ताहरूले बधाई ज्ञापन गरिरहेका छन्।

