काठमाडौं । नेपाली कांग्रेसका सभापति **गगन थापाले** कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र पक्राउको घटनाप्रति तीव्र असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै उनले माजिद अन्सारी, नहेन्द्र खड्का, सरिश्मा थापालगायत युवाहरू बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेकै कारण उनीहरूमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिइएको भन्दै यसलाई “अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय” घटना भएको बताएका छन्।
लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै सभापति थापाले त्यसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन नसक्ने बताएका छन्। सरकारको बल विधिको शासन, संवाद र उत्तरदायित्वमा देखिनुपर्ने उल्लेख गर्दै उनले फरक मत र आलोचना सुन्न नसक्नु बहादुरी नभई “सत्ताको चरम कायरता” भएको टिप्पणी गरेका छन्। साथै, पक्राउ परेका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।

