ऐरावती गाउँपालिकाले दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ६ (स्वच्छ पानी र सरसफाइ) लाई पूरा गर्न “एक घर, एक सफा खानेपानी धारा” कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। गाउँ सभाको २०औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष नबिल विक्रम शाहले “कृषि, पर्यटन, रोजगारीको बढाउँदै गति, शान्त, सुन्दर, समून्नत बनाऔँ ऐरावती” भन्ने मूल नाराका साथ विषयगत क्षेत्रमा आधारित ११ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। संघीय तथा प्रादेशिक समन्वय र नेवा परियोजनाको लागत साझेदारीमा खानेपानी आयोजनाहरूलाई तीव्रता दिने योजना बनाइएको छ भने पानीको शुद्धता नियमित मापनका लागि पालिका स्तरमै एक ‘वाटर टेस्टिङ ल्याब’ स्थापना गर्ने नवीन नीति अघि सारिएको छ।
यसैगरी, गाउँपालिकाले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन र स्वरोजगार सिर्जना गर्न स्थानीय कच्चा पदार्थमा आधारित “एक वडा, एक घरेलु उद्योग” कार्यक्रम ल्याएको छ। यस कार्यक्रम अन्तर्गत बाँस, निगालो, कफी, मौरीपालन, र दुना टपरी जस्ता स्थानीय स्रोतहरूमा आधारित साना उद्योगहरूको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्ता उद्योगहरूको प्रवर्द्धन, विकास र सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले एक साझा सुविधा केन्द्र (Common Facility Center) समेत स्थापना गर्ने लक्ष्य लिएको छ, जसले स्थानीय उत्पादन र रोजगारी वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
बजेटको पूर्ण पाठको लागि यहाँ क्लिक गर्नुहोस्।

