बाहाने, प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाले आगामी चार वर्षभित्र गाउँपालिकालाई बालविवाहमुक्त बनाउने महत्त्वाकाङ्क्षी नीति अघि सारेको छ। मंगलबार आयोजित गाउँपालिकाको २० औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले उक्त घोषणा गर्नुभएको हो। गाउँसभाको यो अधिवेशनले प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित समेत गरेको छ।

पर्यटन क्षेत्रको विकासलाई अर्को मुख्य प्राथमिकतामा राख्दै गाउँपालिकाले आगामी वर्ष ‘नौबहिनी मिडिया सम्मेलन’ आयोजना गर्ने नीति लिएको छ। गाउँपालिका भित्र पहिचान भएका तथा पहिचान हुन बाँकी रहेका पर्यटकीय स्थलहरूको भौतिक पूर्वाधार विकास र देशव्यापी प्रवर्द्धनका लागि यो सम्मेलन फलदायी हुने विश्वास गाउँपालिकाले लिएको छ।

५६ करोड ७९ लाखको बजेट अनुमान

गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष बिष्ना थापाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कुल रु. ५६ करोड ७९ लाख ३१ हजार ८ सय खर्च हुने अनुमानित विवरण पेस गर्नुभयो।

यस्तो छ चालु र गत आर्थिक वर्षको वित्तीय अवस्था

उपाध्यक्ष थापाले सभामा चालु र गत आर्थिक वर्षको आर्थिक विवरण पनि प्रस्तुत गर्नुभएको थियो। विवरण अनुसार:

चालु आर्थिक वर्ष २०८२/०८३: असार मसान्तसम्मको संशोधित आय अनुमान रु. ५६ करोड २० लाख ६४ हजार २ सय ६६ रुपैयाँ ३० पैसा रहेको छ भने आर्थिक वर्षको अन्त्यसम्ममा कुल रु. ५० करोड ५ लाख २४ हजार ४३ रुपैयाँ १ पैसा व्यय हुने अनुमान गरिएको छ।

गत आर्थिक वर्ष २०८१/०८२: गत वर्ष गाउँपालिकाको खुद आम्दानी रु. ४९ करोड ५ लाख २४ हजार ९ सय १८ रुपैयाँ ८७ पैसा भएकोमा सोही अवधिमा रु. ४८ करोड ३० लाख ८५ हजार १० रुपैयाँ ४६ पैसा खर्च भएको गाउँपालिकाले जनाएको छ।

सामाजिक सुधार अन्तर्गत बालविवाह न्यूनीकरण र आर्थिक समृद्धिका लागि पर्यटन प्रवर्द्धनलाई जोड दिँदै ल्याइएको यस बजेट तथा नीति कार्यक्रमको स्थानीय स्तरमा सकारात्मक चर्चा सुरु भएको छ।

Avatar
Website |  + posts