चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै रवि लामिछानेले पार्टीलाई उपलब्धिको चर्चा मात्र गर्ने होइन, त्यसलाई जनताले अनुभूति गर्ने परिणाममा रूपान्तरण गर्नुपर्ने बताएका छन्।
उनले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो विवेक, इमानदारी र जिम्मेवारीलाई सर्वोपरि राख्न आग्रह गर्दै प्रतिनिधि हुनु भनेको कसैको पक्षमा अन्धसमर्थन गर्नु नभएको स्पष्ट पारे। पार्टीभित्र गलत पात्र र गलत प्रवृत्तिले स्थान नपाओस् भन्नेमा जोड दिँदै उनले स्वच्छ र जिम्मेवार राजनीतिक संस्कृतिको विकास आवश्यक रहेको बताए।
लामिछानेले राजनीतिमा एकअर्काको खुट्टा तान्ने प्रवृत्ति अन्त्य गरी सहकार्य, सहयोग र एकताको भावना बलियो बनाउनुपर्ने धारणा राखे। पुरानै राजनीतिक शैली र व्यवहारलाई निरन्तरता दिए पार्टीले पनि अन्य दलहरूले भोगेका समस्या दोहोर्याउन सक्ने चेतावनी उनले दिए।
उनले रास्वपा कसलाई भोट दिने वा नदिने भनेर निर्देशन जारी गर्ने पार्टी नभएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यास र स्वतन्त्र निर्णयको सम्मान गर्नुपर्ने बताए। पार्टीभित्र देखिने मतभेद र असहमतिलाई सार्वजनिक विवादको विषय बनाउनु भन्दा आन्तरिक छलफलमार्फत समाधान गर्नुपर्नेमा पनि उनले जोड दिए।
सम्बोधनको अन्त्यतिर उनले रास्वपाभित्र गुट, उपगुट र प्यानलको राजनीति हुन नहुने भन्दै पार्टीलाई एकताबद्ध, अनुशासित र मतभेदलाई व्यवस्थापन गर्न सक्ने उदाहरणीय राजनीतिक शक्ति बनाउन सबैलाई आह्वान गरे।

