प्यूठान। नौबहिनी गाउँपालिका–५ लुङमा भिरबाट लडेर युवकको मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तले सरकारी वकिल कार्यालय अगाडि प्रदर्शन गरेका छन्। जेठ ३ गते स्थानीयबीच भएको विवादका क्रममा भागदौड हुँदा मधु सुनार भिरबाट लडेर मृत्यु भएको थियो। उक्त घटनामा संलग्न व्यक्तिमाथि हत्या अभियोगमा मुद्दा चलाइनुपर्ने माग गर्दै आफन्तहरूले विरोध जनाएका हुन्।
स्रोतका अनुसार घटनाको अनुसन्धानपछि प्रहरीले हत्या अभियोग अन्तर्गत मुद्दा चलाउन रायसहित प्रतिवेदन पेश गरेको भए पनि सरकारी वकिल कार्यालयले घटनालाई ‘भवितव्य’ (दुर्घटनाजन्य मृत्यु) अन्तर्गत मुद्दा अघि बढाएको छ। सरकारी वकिल कार्यालयको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै मृतकका परिवारजन र आफन्तले न्यायको मागसहित प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष पुनः मूल्याङ्कन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

