दोहा । प्युठान सेवा समाज दोहा कतारले २२ मे २०२६ का दिन दोहास्थित एक सभा हलमा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ। सन् २००९ मा कतारमा स्थापना भई निरन्तर सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय रहँदै आएको समाजले संस्थाका पूर्व संरक्षक तथा हाल अनुशासन विभाग संयोजक रहेका गुमान सिंह बिकलाई सम्मान तथा बिदाई गरेको हो। लामो समयदेखि संस्थाका विभिन्न जिम्मेवारीपूर्ण पदमा रही आर्थिक, नैतिक तथा भौतिक रूपमा पुर्याएको योगदानको कदर गर्दै समाजले विशेष कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा प्युठानी तथा गैर–प्युठानी समुदायका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। संस्थाका अध्यक्ष सिताराम सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भोजबहादुर पुनले गरेका थिए। कार्यक्रममा संस्थाका प्रमुख संरक्षक बलदेव राना प्रमुख अतिथि रहेका थिए भने प्रमुख सल्लाहकार केशरबहादुर केसी, संरक्षक कमल आचार्य, पूर्व संरक्षक लिला जीसी तथा सल्लाहकार विशाल जीसी र रमेश केसी विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा संस्थाका विभिन्न प्रतिनिधिहरूले आ–आफ्ना धारणा राख्दै गुमान सिंह बिकले संस्थामा पुर्याएको योगदानको स्मरण गरेका थिए। वक्ताहरूले उहाँको सक्रियता, समर्पण र संस्थाप्रतिको निष्ठाको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेकाथिए।

