प्यूठान जिल्लामा देखिएको विद्युत समस्याको समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिइएको छ। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै माननीय सुशान्त वैदिक ले झिमरुक पावर प्लान्टको १५ एमभीए ट्रान्सफर्मरमा समस्या देखिएकाले विद्युत आपूर्ति प्रभावित भएको बताएका छन्।
उहाँका अनुसार समस्या समाधान तथा मर्मतका लागि केही समय लाग्ने देखिएको छ। हाल अस्थायी व्यवस्थापनका रूपमा अर्घाखाँची जिल्लाबाट लाइन लिएर विद्युत आपूर्ति गर्ने तयारी भइरहेको छ। आज रातीसम्म अर्घाखाँचीबाट प्यूठानको खलंगा–बिजुवारसम्म लाइन सप्लाई हुने र भोलि साँझसम्म अधिकांश क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ।
यद्यपि अर्घाखाँचीबाट आएको लाइनमार्फत एकैपटक सबै क्षेत्रमा विद्युत आपूर्ति गर्न कठिनाइ हुने भएकाले केही समय साँझको समयमा आलोपालो प्रणालीमार्फत विद्युत वितरण हुन सक्ने जनाइएको छ। साथै विद्युत सेवा छिटोभन्दा छिटो नियमित गर्न आवश्यक पहल र समन्वय भइरहेको तथा दीर्घकालीन समाधानका लागि सब-स्टेसन निर्माण लगायतका विषयमा सरकारसमक्ष आग्रह गरिएको माननीय वैदिकले बताएका छन्।

