नौबहिनी गाउँपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा अतिक्रमण भएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/१२/१३ को एक सय बुँदे कार्ययोजनाको बुँदा नं. ९२, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८३/०१/१७ को परिपत्र तथा जिल्ला प्रशासन कार्यालय प्युठानको मिति २०८३/०२/०६ को सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण सम्बन्धी सूचनाको आधारमा गाउँपालिकाले यस्तो सूचना जारी गरेको हो।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसोवास गरेका वा संरचना निर्माण गरेका व्यक्तिहरूलाई तत्काल त्यस्ता संरचना हटाई जग्गा खाली गर्न आग्रह गरेको छ। साथै गाउँपालिका क्षेत्रभित्र कसैले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गरेको जानकारी भएमा सम्बन्धित वडा कार्यालय, गाउँ कार्यपालिकाको कार्यालय वा गाउँपालिकाको इमेल ठेगाना [naubahinirm@gmail.com](mailto:naubahinirm@gmail.com) मा सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ। सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले अतिक्रमण गरी बसोवास गरिरहेका घरपरिवारमध्ये वास्तविक सुकुम्वासीको पहिचान गरी उनीहरूलाई अन्यत्र व्यवस्थापन गर्ने योजना समेत अघि बढाइने जनाएको छ। साथै अतिक्रमित जग्गाको नापजाँच, संरक्षण तथा व्यवस्थापन सम्बन्धी अन्य प्रक्रिया पनि अगाडि बढाइने उल्लेख गरिएको छ।
नौबहिनी गाउँपालिका गाउँकार्यपालिका बैठकको मिति २०८३/०२/०८ गतेको निर्णयअनुसार जारी गरिएको उक्त सूचनामा गाउँपालिका क्षेत्रभित्र कुनै पनि सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा जोखिमपूर्ण स्थानमा बसोवास नगर्न सबैमा आग्रह गरिएको छ।

