श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । उनले जनताले आफूहरूलाई प्रतिपक्षमा बसेर काम गर्ने म्यान्डेट दिएको भन्दै सोहीअनुसार अघि बढ्ने बताएका हुन् ।

काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले भने, “जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएका छन्, त्यसैले हामी म्यान्डेटअनुसार काम गर्छौं।” उनले सरकारमा जाने कुनै योजना नरहेको स्पष्ट पारे ।

रास्वपाले सरकारमा सहभागी हुन आह्वान गरे के गर्ने भन्ने प्रश्नमा उनले आफूहरू सरकारमा नजाने अडान दोहोर्‍याए । उनले राम्रो काम गर्ने जोसुकैलाई समर्थन गर्ने र नराम्रो कामको सधैं विरोध गर्ने बताए ।

साम्पाङले रास्वपाबाट बालेन शाहभन्दा पनि रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने धारणा पुनः व्यक्त गरे । उनले प्रतिपक्षले उठाएको प्रश्नको समयमै उत्तर दिन सक्ने व्यक्ति नै प्रधानमन्त्री हुनुपर्ने बताएका छन् ।

“प्रतिपक्षले सोधेको प्रश्नको जवाफ दिन सक्ने व्यक्ति नै प्रधानमन्त्री हुनुपर्छ,” उनले भने, “हामीले गर्ने प्रश्नको उत्तर दिन सक्ने नेतृत्व आवश्यक छ।”

चुनावअघि आफू प्रधानमन्त्री बन्ने बताएका विषयमा पनि उनले स्पष्ट पार्दै भने, “अरू नेताहरूले जस्तै मैले पनि भनेको थिएँ, तर जनताले त्यो म्यान्डेट दिएनन् । जनताको मतभन्दा मेरो बोली ठूलो होइन।”

साम्पाङले जनताको निर्णयलाई स्वीकार गर्दै आफूहरू प्रतिपक्षमा बसेर सरकारलाई निगरानी गर्ने र जनताको पक्षमा प्रश्न उठाउने भूमिकामा रहने बताए ।

Avatar
Website |  + posts