प्यूठान नगरपालिका–७ गाजुरीस्थित **इशान एग्रो फार्म**ले यस वर्ष पनि व्यावसायिक रूपमा उत्पादन गरिएको ड्रागन फल बजारमा ल्याएको छ। फार्मले यस वर्ष करिब **९० क्विन्टल ड्रागन फल** बिक्रीका लागि तयार गरेको छ। सञ्चालक **नविन कुमार श्रेष्ठ**का अनुसार ड्रागन फलको थोक मूल्य प्रतिकेजी **४०० रुपैयाँ** र खुद्रा मूल्य **४५० रुपैयाँ** कायम गरिएको छ।
फार्मले यस वर्ष करिब **४० लाख रुपैयाँ बराबरको ड्रागन फल बिक्री** हुने अनुमान गरेको छ। यहाँ उत्पादन भएको ड्रागन फल प्यूठानसँगै बुटवल, पोखरा र काठमाडौंसम्म पुग्ने गरेको छ। श्रेष्ठका अनुसार उत्पादनको झण्डै आधा हिस्सा प्यूठानकै बजारमा खपत हुने गरेको छ भने प्रहरी, नेपाली सेना, अस्पताललगायत विभिन्न संस्थाबाट समेत नियमित माग आउने गरेको छ। स्वाद र गुणस्तरका कारण प्यूठानमा उत्पादित ड्रागन फलप्रति बाहिरी बजारको आकर्षण बढ्दो रहेको उनले बताए।
हाल फार्मले आफ्नै १२ रोपनी र भाडामा लिइएको १० रोपनी गरी **२२ रोपनी क्षेत्रफलमा** ड्रागन खेती गर्दै आएको छ। फार्ममा करिब **५ हजार बोट** रहेका छन्। व्यवस्थापक **लोकबहादुर गुरुङ**का अनुसार यहाँ दैनिक ६ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् भने गोडमेल, मलजल तथा अन्य कृषि कार्यका बेला थप ८–१० जनाले आंशिक रोजगारी पाउने गरेका छन्।
एक समय धान उत्पादन हुने झिमरुक फाँटमा ड्रागन खेती सुरु गर्दा धेरैले आलोचना गरेको श्रेष्ठ सम्झन्छन्। “खेत मासेर यस्तो खेती हुँदैन भन्ने धेरैको भनाइ थियो,” उनले भने, “तर प्यूठानको हावापानीमा पनि ड्रागन खेती सफल हुन्छ भन्ने विश्वासका साथ जोखिम उठायौं।”
उनका अनुसार पहिलो वर्ष करिब ३ हजार बिरुवा रोपिए पनि अनुभवको कमीका कारण आधाभन्दा बढी बिरुवा सुकेका थिए। युट्युब र अन्य स्रोतबाट अध्ययन गर्दै खेतीलाई सुधार गरेपछि दोस्रो वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढेको हो। बिरुवा लगाएको डेढ वर्षमै फल उत्पादन गर्न सफल भएको उनले बताए।
विश्वभर १५२ भन्दा बढी प्रजातिका ड्रागन फल पाइने भए पनि नेपालमा हाल तीन प्रजातिको मात्रै खेती हुँदै आएको छ। इशान एग्रो फार्ममा भने रातो र सेतो जातका ड्रागन उत्पादन हुँदै आएका छन्। खर्च कटाएर वार्षिक करिब **३० लाख रुपैयाँ आम्दानी** हुने गरेको सञ्चालक श्रेष्ठले जानकारी दिए। आगामी वर्षहरूमा खेती विस्तार गर्दै उत्पादन बढाउने योजना समेत फार्मले बनाएको छ।
काठमाडौंमा लेयर्स कुखुरा फार्म सञ्चालन गरेका श्रेष्ठ र लोकबहादुर गुरुङ जग्गा व्यवस्थापनको समस्या भएपछि प्यूठान फर्किएर ड्रागन खेतीमा लागेका हुन्। उनीहरूको यही साहसिक प्रयास आज प्यूठानको पहिलो व्यावसायिक ड्रागन फार्मका रूपमा स्थापित भएको छ। परम्परागत खेतीबाट आधुनिक तथा व्यावसायिक कृषितर्फ अघि बढ्न चाहने युवाका लागि **इशान एग्रो फार्म** प्रेरणादायी उदाहरण बनेको छ।

