काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको घटनाले समाज, राज्य र समग्र नागरिक चेतनालाई गम्भीर रूपमा झस्काएको बताएका छन्।

शुक्रबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले यो घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नभई एक नागरिकको जीवन, एक परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय भएको बताएका छन्। उनले गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

थापाले यस कठिन घडीमा गणेश नेपालीका आश्रित परिवारलाई साथ दिन र सक्दो सहयोग गर्न सबैमा अपिल गरेका छन्। विगत र वर्तमानमा कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने उनको भनाइ छ।

उनले एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ, आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ, राज्यका सेवा र संयन्त्रले नागरिकलाई किन भरोसाको अनुभूति गराउन सक्दैनन्, तथा समाज, परिवार, राज्य र नागरिकका रूपमा कहाँ चुक्यौँ भन्ने प्रश्नको इमानदार उत्तर खोज्नुपर्नेमा जोड दिएका छन्।

भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको भनाइ छ।

 

Avatar
Website |  + posts