ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरद गौतम र Airawati update.com का सञ्चालक अनुपराज पाण्डेबीच बिल भुक्तानी र कार्यकक्षको संवादलाई लिएर विवाद उत्पन्न भएको छ। दुवै पक्षले एक-अर्कामाथि गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जाल र सार्वजनिक रूपमा आफ्ना भनाइहरू बाहिर ल्याएपछि यो विषयले चर्चा पाएको छ।
पत्रकार अनुपराज पाण्डेले सोमबार आफ्नो फेसबुक प्रोफाइलमार्फत प्रमुख प्रशासकीय अधिकृत गौतमले जिल्लाका पत्रकारहरूलाई अपमानित गरेको आरोप लगाउनुभएको छ। पाण्डेका अनुसार, विगतमा गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृतसँग भएको सम्झौता बमोजिमको रकम भुक्तानीका लागि आवश्यक कागजातसहित कार्यालय जाँदा अधिकृत गौतमले दुर्व्यवहार गर्नुभएको थियो। “जुन प्रमुख प्रशासकीय अधिकृतले सम्झौता गरेको हो, उसैसँग भुक्तानी माग्नु, म सँग भिख नमाग्नु, प्युठानका पत्रकार सबै यस्तै भिख माग्न आउँछन्” भनी अधिकृत गौतमले गैरजिम्मेवार अभिव्यक्ति दिएको पाण्डेको दाबी छ।
यता, प्रमुख प्रशासकीय अधिकृत सरद गौतमले भने पत्रकार पाण्डेको उक्त आरोप पूर्णतः निराधार र कपोलकल्पित भएको भन्दै खण्डन गर्नुभएको छ। आफ्नो गल्ती लुकाउन र सहानुभूति प्राप्त गर्न पाण्डेले सम्पूर्ण पत्रकारहरूको अपमान गर्न खोजेको अधिकृत गौतमको भनाइ छ।

अधिकृत गौतमका अनुसार विवाद पुरानो सम्झौताको बिल भुक्तानीमा नभई नीति कार्यक्रमको फेसबुक लाइभबापत पेस गरिएको रु. २०,००० को बिल र अन्य आफूखुसी ल्याइएका सूचनाका बिलहरूमा रहेको हो। “नीति कार्यक्रमको लाइभको बिल अली बढी भयो, २० हजार पुग्ने संलग्न कागजात के छ भनी सोध्दा उहाँ आवेगमा आउनुभयो,” गौतमले भन्नुभयो, “कानुनसम्मत र औचित्यपूर्ण खर्चलाई मात्र भुक्तानी गर्नु मेरो कर्तव्य हो। बेमनासिब बिल भुक्तानी दिन अस्वीकार गर्दा मेरो व्यक्तिगत तस्बिर सामाजिक सञ्जालमा राखी बदनाम गर्न खोजिएको छ।”
एक सार्वजनिक व्यक्तिको तस्बिर सामाजिक सञ्जालमा राखेर नियतवश चरित्रहत्या गर्न खोज्नु कानुनी रूपमा क्षम्य नरहेको भन्दै अधिकृत गौतमले आफू राज्य र कानुनलाई सर्वोपरि ठानी कर्तव्यमा अडिग रहने स्पष्ट पार्नुभएको छ।

