धुनिवेसी लघुवित्त वित्तीय संस्था कर्मचारी मञ्चको आयोजनामा धुनिवेसी नगरपालिका अन्तर्गत खानिखोला बजार क्षेत्रमा ‘विश्व मुद्रा सप्ताह’ २०२६ कार्यक्रमअन्तर्गत प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

वित्तीय साक्षरता अभिवृद्धि गर्ने, बचत गर्ने बानीको विकास गराउने, जिम्मेवार आर्थिक व्यवहारप्रति नागरिकलाई सचेत बनाउने तथा समुदायस्तरमै वित्तीय पहुँच र ज्ञान विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा यस क्षेत्रमा कार्यक्षेत्र बनाई सेवा प्रवाह गरिरहेका विभिन्न लघुवित्त संस्थाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रभातफेरीका क्रममा सहभागीहरूले वित्तीय अनुशासन, बचत, लगानी, डिजिटल कारोबार तथा आर्थिक सचेतनासम्बन्धी सन्देशसहितका नारा प्रस्तुत गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए।

उक्त कार्यक्रमले स्थानीय तहमा वित्तीय सचेतना फैलाउने अभियानलाई अझ प्रभावकारी बनाउनुका साथै विभिन्न लघुवित्त संस्थामा कार्यरत कर्मचारीहरूबीच सहकार्य, समन्वय र साझा उद्देश्यप्रतिको प्रतिबद्धता पनि उजागर गरेको छ।

कार्यक्रमका अध्यक्ष प्रदीप भण्डारीले ‘विश्व मुद्रा सप्ताह’ जस्ता अभियानले विशेषगरी युवा, विद्यार्थी, सर्वसाधारण तथा सेवाग्राहीहरूमा आर्थिक योजना, बचतको संस्कार र जिम्मेवार वित्तीय निर्णयसम्बन्धी चेतना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। सभ्य, मर्यादित र उत्साहपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रमले धुनिवेसी क्षेत्रमा वित्तीय साक्षरताको सन्देशलाई अझ व्यापक रूपमा प्रवाह गर्ने अपेक्षा गरिएको छ।

