यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि बिहीबारदेखि सुरु हुँदै छ। पहिलो पटक उत्तरपुस्तिका देशभरका परीक्षा केन्द्रमै परीक्षण गरिने व्यवस्था गरिएको छ। परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र सम्बन्धित केन्द्रमै जाँच गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
केन्द्रमा परीक्षण सम्भव नभएमा सोही दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा पठाएर परीक्षण गरिनेछ। केन्द्रमै जाँच गर्ने वा इकाईमा ल्याएर गर्ने भन्ने निर्णय सम्बन्धित इकाईलाई दिइएको छ।
परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित यो व्यवस्था लागू गरिएको हो। शिक्षामन्त्री सस्मित पोखरेलले पनि एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिइसकेका छन्। विगतमा भने एसईईको नतिजा असार दोस्रो सातासम्ममा सार्वजनिक हुने गरेको थियो।
एसईईको सम्पूर्ण तयारी पूरा
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सुरु हुनेछ।
चैत १९ गतेदेखि सुरु भई २९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षामा यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै छन्। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना छन्। परीक्षार्थीमध्ये छात्राको संख्या बढी रहेको छ।
यस वर्ष २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना सहभागी हुनेछन्। साथै जापानस्थित एक परीक्षा केन्द्रबाट पनि २३ जनाले परीक्षा दिनेछन्।
परीक्षा तालिका
चैत १९ गते: अनिवार्य अङ्ग्रेजी
चैत २० गते: अनिवार्य नेपाली
चैत २२ गते: अनिवार्य गणित
चैत २३ गते: विज्ञान तथा प्रविधि
चैत २४ गते: सामाजिक अध्ययन
चैत २५ गते: ऐच्छिक प्रथम खण्ड
चैत २६ गते: ऐच्छिक द्वितीय खण्ड
चैत २७–२९ गते: प्राविधिक धारका बाँकी विषय
सामूहिक अनुगमनमा रोक
यस वर्ष एसईई परीक्षामा सामूहिक अनुगमनमा रोक लगाइएको छ। विभिन्न संघ–संस्थाका प्रतिनिधि परीक्षा हलमा प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्य प्रभावित भएको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो।
अब अनुगमन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले केन्द्र बाहिरबाट मात्र गर्नेछन्। पत्रकारलाई पनि परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न अनुमति दिइएको छ।
प्रत्येक परीक्षा केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ। बोर्डका अनुसार प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी तथा अन्य दुई कर्मचारीको व्यवस्था गरिएको छ।

