नेपाली कांग्रेसले विशेष महाधिवेशन र त्यससम्बन्धी निर्वाचन आयोगको निर्णयलाई संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार भएको लोकतान्त्रिक प्रक्रिया भन्दै स्वागत गरेको छ। पार्टीले यसलाई कुनै जय–पराजयको विषय नभई विधि, विधान र पद्धतिले प्रधानता पाएको साझा उपलब्धि भएको उल्लेख गरेको छ। विशेष महाधिवेशनमार्फत पार्टी नेताको चाहनाभन्दा आम सदस्यको चाहनाले पार्टी चल्ने स्पष्ट सन्देश स्थापित भएको र कांग्रेस आफ्नो मूल मूल्य, मान्यता र आदर्शतर्फ फर्किएको दाबी गरिएको छ।
प्रेस विज्ञप्तिमा विशेष महाधिवेशनमा सहभागी भएका–नभएका, सहमत भएका–नभएका सबै नेता–कार्यकर्ता तथा देश–विदेशमा रहेका शुभेच्छुकलाई संयमित, जिम्मेवार र एकतावद्ध रहन आग्रह गरिएको छ। अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको यात्रामा अघि बढिसकेको, रिफर्मको प्रक्रिया सुरु भइसकेको र आशन्न निर्वाचनमा एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिइएको छ। यस लोकतान्त्रिक प्रक्रियामा पार्टीका पूर्व सभापति शेरबहादुर देउवासहित सबै तहका नेताहरूबाट पूर्ण सहयोग रहने विश्वास व्यक्त गरिएको छ।


विज्ञप्तिमा अब कांग्रेसभित्र कुनै गुट नहुने, गुटगत भागबण्डा अन्त्य हुने र जिम्मेवारी फरक भए पनि भुइँतहका सदस्यदेखि केन्द्रीय सभापतिसम्म सबैको समान हैसियत रहने उल्लेख छ। कांग्रेस कुनै सीमित नेताको मात्र नभई आम नेपाली जनताको सार्वजनिक पुँजी भएको बताउँदै, विशेष महाधिवेशनमार्फत विगतका कमजोरीको आत्मआलोचना गर्दै उपलब्धिलाई समयानुकूल संस्थागत गर्ने संकल्प गरिएको जनाइएको छ। मूल्य र सिद्धान्तविपरीत अप्राकृतिक गठबन्धन नगर्ने, संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिएको छ।
अन्त्यमा, पार्टीले लोकतन्त्रका लागि बलिदान दिने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अग्रज नेताहरूप्रति सम्मान व्यक्त गरेको छ। साथै, नवयुवा सहित सम्पूर्ण नेपाली जनसमुदायलाई समुन्नत नेपाल निर्माणको यात्रामा सरिक हुन पुनः हार्दिक अपील गरेको छ।

Avatar
Website |  + posts