काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद समाधान गर्दै पार्टी एकता कायम राख्न महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सात बुँदे सर्त अघि सारेका छन्।

उनीहरूले २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिहरूको मागमा आह्वान गरिएको विशेष महाधिवेशनको राजनीतिक स्वामित्व नेपाली कांग्रेस केन्द्रीय समितिले लिनुपर्ने स्पष्ट पारेका छन्। साथै, विशेष महाधिवेशनमा पार्टी सुधारका लागि पेश भएका तथा सहभागीहरूबाट संकलन गरिएका प्रस्ताव र सुझावहरूलाई केन्द्रीय समितिले औपचारिक रूपमा ग्रहण गर्नुपर्ने सर्त राखिएको छ।

महामन्त्रीद्वयले आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि अन्य राजनीतिक दलसँग गठबन्धन नगर्ने निर्णय लिनुपर्ने माग गरेका छन्। त्यस्तै, पार्टीका उम्मेदवार चयन गर्न विधान बमोजिम संसदीय बोर्ड गठन गर्नुपर्ने र उक्त बोर्डमा विशेष महाधिवेशन पक्षधरहरूको सम्मानजनक उपस्थिति सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।

सर्तहरूमा प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण न्यायोचित र सम्मानजनक हुनुपर्ने, टिकट वितरण प्रक्रियामा सभापति शेरबहादुर देउवाको हस्ताक्षरको सट्टा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने व्यवस्था राखिएको छ।

त्यसैगरी, विशेष महाधिवेशनको समापन सत्रमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला उपस्थित भई सहमतिसहित महाधिवेशनको स्वामित्व लिनुपर्ने सर्त पनि अघि सारिएको छ।

महामन्त्री थापा र शर्माले यी सर्तहरू कार्यान्वयन भएमा पार्टीभित्रको असन्तुष्टि कम भई कांग्रेस एकताबद्ध रूपमा आगामी निर्वाचनमा होमिन सक्ने विश्वास व्यक्त गरेका छन्।

Avatar
Website |  + posts