नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र सुरु हुँदैछ। महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुभाष पोखरेलका अनुसार बिहान १० बजेदेखि बन्द सत्र सुरु भई प्रारम्भमा विशेष महाधिवेशन सञ्चालन कार्यविधि तय गरिनेछ। त्यसपछि नौ वटा समूह बनाएर विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक विषयमा नीति मन्थन र बृहत् छलफल हुने कार्यतालिका रहेको छ।

नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने विषयमा छलफल हुनेछ र परिवर्तनको पक्षमा निर्णय भए निर्वाचन समिति गठन गरी प्रक्रिया अघि बढाइने पोखरेलले जानकारी दिए। नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेको बताइएको छ। यसैबीच, अधिकांश प्रतिनिधि आज बिहान मात्र काठमाडौं आइपुगेकाले महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम बिहान ११ बजेसम्म जारी रहने क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयले बताएका छन्।

