नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी केन्द्रीय कार्यालय बाहिर नेता विमलेन्द्र निधिप्रति भएको व्यवहारप्रति आपत्ति जनाएका छन्। उनले उक्त घटनालाई गलत र निन्दनीय भन्दै असहमति जनाएका हुन्।
महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अनुसार असल प्रजातन्त्रवादीले ‘सत्यको अनेकता’मा विश्वास गर्ने र फरक मत राख्ने व्यक्तिको सम्मान गर्नुपर्ने बताए। फरक विचार राखेकै कारण कुनै नेतामाथि असभ्य व्यवहार हुनु झन् गम्भीर विषय भएको उनको भनाइ छ।
उनले यस विषयमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरेको धारणा पनि सही रहेको उल्लेख गर्दै आफू त्यसैसँग सहमत रहेको स्पष्ट पारेका छन्।
महामन्त्री थापाले समग्र नेपाली कांग्रेसका शुभेच्छुक नेता–कार्यकर्तालाई संयमित हुन आग्रह गर्दै परिवर्तन सबैले चाहेको भए पनि त्यसका लागि विधि, विधान र प्रक्रियाभन्दा बाहिर जाने बाटो नभएको बताए। “प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ,” उनले स्टाटसमा उल्लेख गरेका छन्।
पार्टीभित्र देखिँदै आएको मतभिन्नतालाई संवाद र लोकतान्त्रिक अभ्यासमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै महामन्त्री थापाले पार्टीको एकता र मर्यादा जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन्।

