काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। मुलुकको परिवर्तित राजनीतिक घटनाक्रम, जनआन्दोलनका बलिदान र आम नागरिकको आकाङ्क्षालाई आत्मसात् गर्दै दुवै दलले बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र सुशासन स्थापना गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
सहमतिअनुसार, २०८२ साल भदौ २३–२४ को Gen-Z आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनका शहीद तथा घाइतेप्रति सम्मान व्यक्त गर्दै उनीहरूका परिवारका मागहरूको यथोचित सम्बोधन गरिनेछ। उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणाली (Meritocracy), भ्रष्टाचारप्रति शून्य सहनशीलता र संस्थागत सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयन गर्ने लक्ष्य पनि सहमतिमा समेटिएको छ।
एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृति रहने, चुनाव चिन्ह घण्टी कायम रहने र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने उल्लेख छ। पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने उपसभापतिमा कुलमान घिसिङ, डी.पी. अर्याल र स्वर्णिम वाग्ले रहने सहमति भएको छ।
उज्यालो नेपाल अभियानलाई रास्वपाका कार्यक्रमसँग जोड्दै संगठनात्मक संरचना विस्तार गरिनेछ। यस क्रममा उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता र अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा समुचित जिम्मेवारी दिइनेछ। सहमतिअनुसार पार्टीसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ।
दुवै पक्षले लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध भई अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्तिसँग सहकार्य गर्दै नयाँ राजनीतिक शक्ति स्थापित गर्ने प्रतिबद्धता जनाएका छन्।

