केशर बहादुर के सी

प्यूठानीहरूको एकता, मिलिजुली र सहकार्यको आवश्यकता भन्ने मूल नाराका साथ कतारमा स्थापित सामाजिक संस्था प्यूठान सेवा समाज, कतार ले गृह जिल्ला प्यूठानको मल्लरानी गाउँपालिका–२ स्थित श्री पालु शिद्ध प्राथमिक विद्यालय मा अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ।

संस्थाले आफ्नो १६औँ स्थापना दिवसको अवसरमा गरिब तथा अति विपन्न विद्यार्थीहरूको हितका लागि रु. ५१,१५१ (एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ) विद्यालयलाई प्रदान गरेको हो। उक्त रकम संस्थाका प्रमुख संरक्षक बलदेव राना ले विद्यालयकी प्रधानाध्यापक सारदा आचार्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्य मोहन राना लाई हस्तान्तरण गर्नुभएको थियो।

अक्षयकोष स्थापना कार्यक्रममा मल्लरानी गाउँपालिकाका निवर्तमान अध्यक्ष अमर ध्वज राना प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका मनिषा खनाल ले गर्नुभएको थियो। कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष लेखबहादुर थापा, विद्यालयका वर्तमान तथा पूर्व प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी, बुद्धिजीवी र अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रधानाध्यापक सारदा आचार्य ले प्यूठान सेवा समाज कतारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस अक्षयकोषले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र विपन्न विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन ठूलो टेवा पुग्ने बताउनुभयो। साथै अन्य संघ–संस्था तथा व्यक्तिहरूलाई पनि यस्तै सहयोगका लागि आग्रह गर्नुभयो।

प्रमुख अतिथि अमर ध्वज रानाले अक्षयकोषले विद्यालयको शैक्षिक विकास र गरीब विद्यार्थीहरूको पढाइमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, विदेशमा रहँदै पनि सामाजिक कार्यमा सक्रिय प्यूठान सेवा समाज कतारप्रति आभार व्यक्त गर्नुभयो र संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।

Avatar
Website |  + posts