सुनसरी : भारतबाट अवैध रूपमा लुकाएर ल्याइएको करिब ३०० किलो सयपत्री फूल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । सरकारले भारतबाट सयपत्री फूल आयातमा प्रतिबन्ध लगाएपछि ती फूल अवैध रूपमा सीमाबाट भित्र्याइएको थियो।
मोरङको रतुवामाई नगरपालिका–७ स्थित सीमाक्षेत्रमा तैनाथ सशस्त्र प्रहरी टोलीले सीमाबाट नेपाल भित्र्याइँदै गरेको सयपत्री फुल बरामद गरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
रतुवामाई नगरपालिका–७ का वडाअध्यक्ष राम कार्कीले भने, “कानुन विपरीत भएपनि सयपत्री फूल खाडलमा हाल्दा मन खल्लो हुन्छ, तर अब हामीले आफैँ फूल फुलाउनुपर्छ । चाडपर्वमा प्रयोग हुने सामग्री नेपालमै उत्पादन गर्नुपर्छ, विदेशी वस्तुमा निर्भर रहनु ठीक होइन,” भन्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा कार्कीले जोड दिए ।
प्रहरीले भारतसँगको सीमाक्षेत्रमा थप सतर्कता अपनाउँदै यस्ता अवैध सामान नियन्त्रण अभियान निरन्तर जारी राखेको जनाएको छ
