देशभर आज तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ । यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आजको दिन कुकुरलाई माला, टीका र मीठा परिकार अर्पण गरी पूजा गरिन्छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजका द्वारपाल श्याम र सबलले यमलोक जाने बाटो सजिलो बनाइदिने धार्मिक विश्वास छ । धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा साथ दिने कुकुरको प्रतीकबाट पनि आज्ञापालक, विश्वस्त र सुरक्षामा भरपर्दो जनावरका रूपमा कुकुरलाई सम्मान गर्ने परम्परा रहेको छ ।
आजकै दिन ‘नरक चतुर्दशी’ पनि परेको छ । बिहानै तीर्थ वा नदीमा स्नान गरी तर्पण गरेर यमदीप बाल्ने परम्परा छ, जसलाई ‘नरके बगाउने’ भनिन्छ । यमपञ्चकका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने चलन रहेकाले आज बिहान कुकुर पूजा गरिएपछि साँझ लक्ष्मी पूजा गरिँदैछ ।

