आज देशभर तिहारको पहिलो दिन काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आजदेखि सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार मनाइँदै छ। तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसमा क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गाई तिहार र भाइटिका गरी पाँच दिनसम्म पर्व मनाइन्छ।
वैदिक सनातन धर्म अनुसार कागलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ। कागले मानिसको जन्म–मृत्युसम्बन्धी सन्देश यमराजसमक्ष पुर्याउने विश्वास रहिआएको छ। यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही भात लगायतका परिकार अर्पण गर्ने चलन छ। कागलाई नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने मान्यता छ, त्यसैले कागलाई प्रसन्न पार्दै यमदण्डरूपी संकटबाट मुक्त रहोस् भन्ने कामना गरिन्छ।
धार्मिक दृष्टिले काग तिहारले मृत्यु–जीवनचक्रको सन्देश दिनुका साथै पक्षी, जनावर र प्रकृतिप्रतिको सम्मान गर्ने भावना पनि बोकेको छ। काग तिहारबाट सुरु भएको यो पर्वले कृतज्ञता, दानशीलता र सहअस्तित्वको सन्देश फैलाउँछ, जसले मानवीय सम्बन्ध र प्रकृतिप्रतिको श्रद्धालाई अझ प्रगाढ बनाउँछ।

