भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली महिलाले सप्त ऋषि र अरुन्धतीको पूजा गरी मनाउँदैछन्। बिहानै उठेर स्नान, गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई नदी वा पोखरीमा स्नान गर्ने चलन छ।
रजस्वलाका समयमा हुने त्रुटिबाट मुक्ति पाउन यो पूजा गरिन्छ भन्ने विश्वास छ। सप्त ऋषि—अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरी हविष्य व्रत बस्ने विधि छ।
धार्मिक किम्बदन्तीअनुसार इन्द्रको ब्रह्महत्या दोषको भाग स्त्रीमा पनि परेकाले मासिक धर्म सुरु भएको मानिन्छ। यस दिन स्नान, पञ्चगव्य सेवन र पूजा गरे पाप निवारण हुन्छ भन्ने शास्त्रीय भनाइ छ।

