आज कुशे औंसीका अवसरमा पिता दिवस मनाइँदै छ। सनातन हिन्दू परम्पराअनुसार भाद्र महिनाको अमावस्यालाई विशेष महत्व दिइन्छ। यस दिन बुवालाई सम्मानपूर्वक सम्झने र पूजापाठ गर्ने परम्परा रहेको छ।
यस दिन बुवासँग भेट गरी “मुख हेर्ने” चलन छ भने आमा–बुबा दुबै नभएकाले गोकर्ण, विष्णुपादुका लगायतका धार्मिक स्थलमा गई श्राद्ध, तर्पण, दान गरी पितृलाई सम्झिन्छन्। पितृलाई स्मरण गरेर श्राद्ध गर्दा परलोकमा रहेका आत्मा तृप्त हुने र यस लोकमा आफैं पुण्य प्राप्त हुने विश्वास छ।
कुशे औंसीलाई कुश संकलन गर्ने दिन पनि मानिन्छ। यस दिन घर–घरमा नयाँ कुश ल्याई राख्ने परम्परा छ। धार्मिक मान्यताअनुसार कुश बिना कुनै पनि पूजाआजा अधुरो हुने भएकाले आजको दिनलाई विशेष महत्व दिइन्छ।
पिता दिवसको अवसरमा सामाजिक सञ्जालमा समेत बुवाप्रति कृतज्ञता र सम्मान प्रकट गर्ने क्रम बढ्दो छ।

