शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै महासङ्घले असन्तुष्टि जनाउँदै आन्दोलनको नयाँ चरण घोषणा गरेको हो।
महासङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी यही भदौ ९ गतेसम्म प्रधानमन्त्री, शिक्षामन्त्री तथा राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने जानकारी दिएको छ। महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सोही दिनबाट औपचारिक आन्दोलनको थालनी हुनेछ।
कार्यक्रमअनुसार भदौ ११ देखि २० गतेसम्म केन्द्रस्तरमा सबै राजनीतिक दलका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइनेछ र कम्तीमा २ घण्टा प्रतिनिधिमूलक धर्ना दिइनेछ। यस्तै, भदौ १३ गते सबै पालिकामा तथा भदौ १५ गते सबै जिल्लाका समन्वय इकाईमा ध्यानाकर्षण पत्र बुझाउँदै २ घण्टा धर्ना दिने महासङ्घले जनाएको छ।
महासङ्घले भदौ २१ गतेदेखि अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ। अध्यक्ष सुवेदीले यसअघि सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको दाबी गर्नुभयो।
यसैबीच, संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले हिजो बहुमतले शिक्षा विधेयक पारित गरेको थियो।

