लमही, दाङ – प्याब्सन लमही नगर समितिद्वारा आयोजित तीज विशेष सांस्कृतिक नृत्य प्रतियोगिता बिहीबार लमहीमा सम्पन्न भएको छ। कार्यक्रममा नगरका विभिन्न विद्यालयहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा आधारभूत (कक्षा १–५) र माध्यमिक (कक्षा ६–१०) दुवै तहमा गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले प्रथम स्थान हासिल गरेको छ। आधारभूत तहमा ज्योतिष्मती विद्यापीठ दोस्रो र रोजी बड्स बालबाटिका तेस्रो बनेका छन्। त्यसैगरी माध्यमिक तहमा पनि ज्योतिष्मती विद्यापीठ दोस्रो र ज्ञानज्योति मोडेल तेस्रो स्थानमा रह्यो।

प्रतियोगितामा राप्ती ग्यालेक्सी, स्टिम एजुकेशन, जइन्द्र बोर्डिङ, वेबी क्यासल, लर्ड बुद्ध एकेडेमी र यूरोकिड्स लगायतका विद्यालयहरूको सहभागिता रहेको थियो। विजेताहरूलाई नगदसहित पुरस्कार प्रदान गरिएको आयोजक समितिले जनाएको छ।

कार्यक्रम प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षता र कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

Avatar
Website |  + posts