रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यालय सहायकका रूपमा कार्यरत २५ वर्षीया कोइली शाहीको मृत्यु प्रकरणमा प्रेस चौतारी नेपाल रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्रीमाथि आत्महत्या दुरुत्साहनको आरोप लागेको छ। उनी फरार छन्।

 

शनिबार बिहान कोठामा मृत फेला परेकी शाहीको घटनालाई शंकास्पद मान्दै परिवारले पत्रकार खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएको हो। जाहेरी जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा दर्ता गरिएको छ।

 

शाही सिस्ने गाउँपालिका–६, खोपिचारकी स्थायी बासिन्दा थिइन्। मृतकको परिवारले पत्रकार खत्रीले बारम्बार फोन गरेर मानसिक तनाव दिने गरेको आरोप लगाएका छन्। शाही र खत्रीबीच केही समयदेखि व्यक्तिगत सम्बन्धका कारण तनाव रहेको आशंका गरिएको छ।

 

घटनाको विस्तृत विवरण भने प्रहरीले पुष्टि गर्न बाँकी छ। मृतक परिवार र स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमा शंकर प्रसाद यादवका अनुसार जाहेरीपछि अनुसन्धान अघि बढाइएको छ।

 

फरार भएका खत्रीको खोजी कार्य जारी छ। ‘जाहेरी परेका व्यक्ति फरार छन्, अहिले खोजी तथा अन्य अनुसन्धान भइरहेको छ,’– डीएसपी यादवले भने। मृतक शाहीको शवको पोष्टमार्टम गरिसकिएको भए पनि रिपोर्ट आउन अझै केही दिन लाग्ने बताइएको छ।

Avatar
Website |  + posts