प्यूठान — प्यूठान र रोल्पा जोड्ने मुख्य सडक खण्डको खहरे खोलामा अहिलेसम्म पुल निर्माण नहुनु गम्भीर बेवास्ताको प्रतीक बनेको छ। वर्षेनी मनसुन सुरु भएपछि खोलाको सतह बढेर सडक कटान हुन्छ, जसले गर्दा यात्रु र सर्वसाधारण घण्टौं पैदल हिँड्न बाध्य छन्। पहिरो र खोलाको बाढीले दर्जनौं पटक सडक अबरुद्ध बनाएको तथ्य छ, तर सम्बन्धित निकाय र जनप्रतिनिधिले अहिलेसम्म कुनै ठोस पहल गरेका छैनन्।
स्थानीय बासिन्दा भन्छन्, “चुनावका बेला आउने नेताहरू जितेपछि फर्केर हेर्दैनन्। हामी वर्षेनि जोखिम मोलेर हिँड्न बाध्य छौं।” खहरे खोलामा पुल नबन्दा सवारी साधन चल्न सक्दैन, जसले बिरामी, विद्यार्थी, किसान सबै प्रभावित छन्।

