काठमाडौं — डिजिआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा नेपाल टि–टेन क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) हुने भएको छ। प्रतियोगिता असोज १५ गतेदेखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
सोमवार आयोजित पत्रकार सम्मेलनमा एनएसपिएलका अध्यक्ष ज्ञानु सिंहले लिगको जानकारी दिँदै देशभरका उदीयमान क्रिकेटरहरूलाई राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्य रहेको बताए। “स्ट्रिटदेखि स्टेडियमसम्म” भन्ने नारासहित आयोजना हुने लिगले ग्रासरुट क्रिकेट विकासमा टेवा पुर्याउने उनले बताए।
लिगमा ७ टोलीको सहभागिता रहनेछ। सिंगल राउन्ड रोबिन आधारमा हुने प्रतियोगितामा २४ खेल खेलिने छन्। लिग चरणपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। विजेता टोलीले २१ लाख रुपैयाँ, उपविजेताले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
एनएसपिएलमा खेलाडी अक्सन प्रणाली लागू गरिने र सहभागी टोलीहरूले टिम खरिद गर्नुपर्नेछ। आयोजकले यसलाई व्यवसायिक क्रिकेटतर्फको नयाँ अभ्यासका रूपमा लिएको छ।
कार्यक्रममा अभिनेता निखिल उप्रेतीलाई एनएसपिएलको ब्राण्ड एम्बेसेडरको रूपमा घोषणा गरिएको छ। उप्रेतीले यस अभियानमा जोडिन पाउँदा गौरव र उत्साह महसुस भएको प्रतिक्रिया दिएका छन्।

