काठमाडौँ, १५ जेठ —१५
गणतन्त्र दिवस २०८२ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिँदै गणतन्त्र प्राप्तिको ऐतिहासिक महत्वलाई स्मरण गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले आजको दिन जनताले इतिहास लेखेको दिन भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, “जनताले इतिहास लेखेको दिन आज। मुकुटको होइन, मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो संघर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन।”
प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई गणतन्त्र दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। सन्देशको अन्त्यमा उनले “जय-जय-जय नेपाल” भन्दै राष्ट्रप्रेमको भाव व्यक्त गरेका छन्।
गणतन्त्र दिवस नेपालको राजनीतिक इतिहासमा एक कोसेढुङ्गा मानिन्छ। २०६५ साल जेठ १५ गते नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो, जसले देशमा राजतन्त्रको अन्त्य गर्दै जनताको शासन व्यवस्थाको औपचारिक सुरुआत गरेको हो।

