प्युठान, २०८२ जेठ — आर्थिक वर्ष 2081/82 को समापन नजिकिँदै जाँदा नौबहिनी गाउँपालिकाले भुक्तानी प्रक्रिया समयमै सम्पन्न गर्न सम्बन्धित पक्षहरूसँग आग्रह गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम १ अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तिमा ७ दिन अगावै खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था अनुरूप गाउँपालिकाले यो सूचना सार्वजनिक गरेको हो।
यस अनुरूप, हाल गाउँपालिकासँग सम्झौता भई योजना कार्यान्वयनमा रहेका उपभोक्ता समितिहरूलाई भुक्तानीका लागि आवश्यक कागजातहरु २०८२ साल जेठ मसान्तभित्र अनिवार्यरूपमा पेश गर्न अनुरोध गरिएको छ।
त्यस्तैगरी, ठेक्का, परामर्श सेवा, वस्तु आपूर्ति तथा विषयगत शाखाहरूबाट सञ्चालित चालु कार्यक्रमहरूसम्बन्धी भुक्तानीका फाइलहरू ढिलोमा २०८२ साल असार १५ गतेभित्र पेश गर्न भनिएको छ।
निर्धारित म्यादभन्दा पछि पेश गरिने कागजातहरूमा भुक्तानी हुन नसकेमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने समेत जानकारी गराइएको छ।
गाउँपालिकाले समयमै लेखा संकलन तथा भुक्तानी प्रक्रिया निष्कर्षमा पुर्याउन सबै सरोकारवालाहरूलाई आवश्यक ध्यानाकर्षण गराएको छ।

