नौबहिनी गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत साविकका गा.वि.स. स्याउलीवाङ, खवाङ, लिघा, लुङ, डाम्री र फोप्ली मिलेर बनेको हो ।नेपालको मानचित्रमा नौबहिनी गाउँपालिकाको भौगोलिक अवस्थिति २८००९’००” देखि २८०२१’००” उत्तरी अक्षांश देखि र ८२०४९’३०” देखि ८३००१’००” पूर्वी देशान्तरसम्म फैलिएको छ ।यसको स्थापना २०७३ फाल्गुन २२ नेपाल सरकारले मन्त्रीस्तरीय निर्णयअनुसार भएको हो । २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या ३२६८२ रहेको छ जसमध्ये महिलाको जनसंख्या १७६४९ (५४प्रतिशत) र पुरुषको जनसंख्या १५०३३ (४६ प्रतिशत) रहेको छ ।यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य मुख्य श्रोतव्यापार, साना घरेलु उद्योग, सेवामुलक व्यवसाय नोकरी साथै विकल्पमा वैदेशिक रोजगारी पनि एक हो ।परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा समेत रमाउन थालेका छन् ।
विगतमा स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ ।अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन ।गाउँपालिकाको शैक्षिक विकास हेर्दा यस गाउँपालिकामा आधारभूत देखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शिक्षण संस्थाहरु रहेका छन् जसमा सामुदायिक र संस्थागत गरी ९ वटा मा.वि, ७ वटा नि.मा.वि र २६ वटा प्रा.वि गरी जम्मा ४२ वटा शिक्षण संस्थाहरु संचालित छन् ।
यस गाउँपालिकामा आधारभूत देखि माध्यामिक शिक्षा सम्म प्रदान गर्नेविद्यालयहरु रहेका छन् भने उच्च शिक्षाको लागि स्थानीय विद्यार्थीहरु नजिकका नगरपालिका तथा जिल्ला बाहिर निर्भर हुनुपरेको देखिन्छ ।तसर्थ उच्च शिक्षा, प्राविधिक शिक्षा र व्यवहारिक शिक्षा विकासको लागि नयाँ शिक्षा योजना ल्याउनुपर्ने देखिन्छ ।विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ ।जस्तै दशैँ, तिहार, माघि, होलि, कृष्णजन्माष्टमी आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाइन्छ ।
केन्द्रः साविक नौबहिनी गाउँपालिका ६ लुङ बाहाने
जनसङ्ख्याः ३२६८२
क्षेत्रफलः २१३.४१ (वर्ग कि.मि.)
वडा संख्याः ८

