
बागलुङ, १ बैशाख । बागलुङमा गाउँपालिकाका कर्मचारी चढेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको ग १ ५७०५ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत मुना विक, नायब पशु शाखा प्राविधि प्रेम रावल, सहायक लेखा अधिकृत सुदर्शन कुसारी, कार्यालय सहयोगी सचिन विक, प्राविधिक सहायक नवीन मल्ल घाइते भएका छन् ।
त्यस्तै गाउँपालिकाकी पूर्वउपाध्यक्ष मनसरी शेरचन, त्यही ठाउँकी इन्द्राकुमारी गिरी, वसन्ती मगर, गाडी चालक सुशील रसाइली, मनी मगर र झरना गिरी घाइते भएका बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । घाइतेमध्ये मुना विक र नवीन मल्लको अवस्था गम्भीर रहेकोले उनीहरूलाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको छ । अन्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।।