बैतडीसहित सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ। मौसममा आएको परिवर्तनसंगै बैतडीको ढोल्यामोड, सिगासलगायतका क्षेत्रमा हिमपात भएको सञ्चारकर्मी सुरेश महराले जानकारी दिनुभयो।
बैतडीसंगै डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा पनि हिमपात भएको छ। वर्षा र हिमपातले किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्।
लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएकोले किसान खुसी भएका हुन्। यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ। हिमपात र वर्षाका कारण चिसो बढेको छ । चिसोका कारण जनजीवन पनि प्रभावित भएको हो।
दैनिक ज्यालामजदुरी गर्ने मजदुर,बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएका छन्। हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन्। चिसोले बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ।
यसअघि गत मंसिर अन्तिम साता पनि हिमपात भएको थियो।

