काठमाडौं, ५ असोज । अमेरिकामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा साइडलाइनमा नेपाल र भारतका प्रधानमन्त्रीबीच वार्ता हुने तय भएको हो । द्विपक्षीय भेटवार्ताको लागि नेपालले अघिल्लो हप्ता नै प्रस्ताव गरे पनि भारतले जवाफ दिएको थिएन ।
गएराति प्रधानमन्त्री ओली न्यूयोर्क पुग्नुभन्दा केही समयअघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार रहेको जानकारी दिएको हो । न्युयोर्कको स्थानीय समयअनुसार आइतवार बेलुका साढे ५ बजे ओली र मोदीबीच भेटवार्ता हुने छ । भारतीय प्रधानमन्त्री मोदी अमेरिकाको विल्मिङटनमा हुने अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड राष्ट्रका नेताहरुको समिटमा भाग लिन जानुभएको हो ।
