केशर बहादुर के सी
प्यूठान सेवा समाज दोहा कतारले आफ्नो १६औँ स्थापना दिवसको अवसरमा प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–२ मैदाना स्थित श्री बाल ज्योति प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ।

“प्यूठानीहरूको एकता, मिलीजुली र सहकार्यको आवश्यकता” भन्ने मूल नाराका साथ सन् २००९ मा स्थापित यस समाजले स्थापना कालदेखि नै कतारमा रहेका प्यूठानीहरूका समस्या समाधान, सहयोग र नेपालमा आउने विपद्का बेला सहयोग पुर्याउँदै आएको छ।

कार्यक्रममा संस्थाका महासचिव टंक प्रसाद पोख्रेलले विद्यालयलाई रु ५१,१५१ (अक्षरुपी एकाउन्न हजार एक सय एकाउन्न) अक्षयकोष हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा झिमरुक गाउँपालिका–२ का वडा अध्यक्ष कृष्ण पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो भने वडासदस्य बेगम पोख्रेलले सञ्चालन गर्नुभएको थियो।

सो अवसरमा प्युठान सेवा समाज कतारका पूर्व कोषाध्यक्ष नवराज केसी, विद्यालय व्यवस्थापन समिति (विव्यस) की अध्यक्ष गीता महतरा, विद्यालयकी प्रधानाध्यापक तेजकला चुदाली, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति थियो।

प्रमुख अतिथि पोख्रेलले प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिप्रति योगदान दिइरहेको समाजप्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगी भूमिका निभाइरहन आग्रह गर्नुभयो। संस्थाका महासचिव पोख्रेलले समाजले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा योगदान पुर्याइरहने जानकारी दिनुभयो।
