प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाले बाल विवाह अन्त्यका लागि १० वर्षे रणनीति तयारी सुरु गरेको छ। बाल विवाह शून्यमा झार्ने लक्ष्यसहित बिहीबार कार्यशाला आयोजना गरिएको हो।

गाउँपालिकाको आयोजना र सार्प रिसर्च सेन्टर प्रा.लि. काठमाडौंको प्राविधिक सहयोगमा सम्पन्न कार्यशालामा दीर्घकालीन रणनीति कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल गरिएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बाल विवाह रोक्न व्यवहार परिवर्तनमूलक दीर्घकालीन योजना अपरिहार्य रहेको बताए। ‘‘रणनीतिको उद्देश्य जनस्तरमा चेतना बढाउँदै बाल विवाहलाई पूर्णरूपमा अन्त्य गर्नु हो,’’ उनले भने। कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष दिल बहादुर थापाले धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रममार्फत जनचेतना अभिवृद्धि गर्दै दस वर्षभित्र बाल विवाह शून्यमा झार्ने लक्ष्य लिएको जानकारी दिए। ‘‘विद्यालय र समुदायस्तरमै निरन्तर चेतनामूलक कार्यक्रम आवश्यक छन्,’’ उनले भने।कार्यशालामा राजनीतिक दल, विद्यालय, संघसंस्था, सामाजिक अगुवालगायतको सक्रिय सहभागिता थियो। सहभागीहरूले आ–आफ्नो तर्फबाट बाल विवाह न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

गाउँपालिकाले तयार गर्न लागेको १० वर्षे रणनीतिमा सबै क्षेत्रको साथ रहने विश्वास व्यक्त गरिएको छ।

Avatar
Website |  + posts