सुवास क्षेत्री पुस -२२ दाङ घोराही १८ नवलपुर फुटबल मैदानमा आईतबार भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर १३ ले वडा नम्बर ६ लाई ४–२ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । यस्तै, दोस्रो सेमिफाईनल खेलमा वडा नम्बर १५ ले वडा नं. १४ लाई सडनडेथमा हराउँदै उपाधि नजिक पुगेको हो ।
पहिलो सेमिफाईनल खेलमा वडा नम्बर वडा नम्बर १३ का लागि कमल बिक, रेवन बुढा, प्रमोद बुढा र विक्रम जिएमले १–१ गोल गरे । यस्तै, वडा नम्बर ६ का लागि कपिल बुढाले दुई गोल पेनाल्टीमार्फत गरे ।
यसैगरी, दोस्रो सेमिफाईनल खेल निकै प्रतिष्पर्धात्मक भयो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट निकालिएको हो ।
पहिलो हाफमा सविन वलीको गोलबाट १–० को अग्रता बनाएको वडा नम्बर १५ ले दोस्रो हाफको ४१ मिनेटमा वडा नम्बर १५ का शेखर नेपालीले आत्मघाती गोल गर्न पुगेपछि खेल बराबरीमा पुगेको थियो ।
अन्ततः खेलको नतिजा टाईब्रेकरबाट निकाल्दा सडनडेथमा ५–४ गोलले हराउँदै वडा नम्बर १५ खेल जितेको हो । अब उपाधिका लागि पुस २३ गते दिउँसो वडा नम्बर १३ र १५ बिच खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।
कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडल, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।
