नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह तथा उहाँको मन्त्रिमण्डललाई बधाई दिँदै नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी ले प्रभावकारी शासन, सुशासन र जनमुखी नीतिमा केन्द्रित हुन आग्रह गरेका छन्। उनले सारथीका रूपमा रहेका रवि लामिछाने सहित सम्पूर्ण टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै देश र जनताको साझा समस्यामा एकजुट भएर काम गर्नुपर्ने बताएका छन्।
भण्डारीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शपथग्रहण समारोहमा समाज र संस्कृतिप्रति सम्मान प्रकट गरिएकोमा खुसी व्यक्त गरेका छन्। उनले “देश एउटै हो—पार्टी फरक भए पनि समस्या साझा छन्” भन्दै सत्ता भागबण्डाको साधन नभई समस्या समाधानको माध्यम बन्नुपर्ने धारणा राखेका छन्। संसदलाई सत्ता संघर्षको मैदान होइन, भुइँमान्छेको आवाज उठ्ने र प्रभावकारी नीति निर्माण हुने थलो बनाइनुपर्ने उनको भनाइ छ।
त्यस्तै, उनले प्राकृतिक स्रोत–साधनलाई जनसमृद्धिको आधार बनाउन, शिक्षा प्रणालीलाई प्रमाणपत्रमुखी नभई अनुसन्धान, सीप र रोजगारीसँग जोड्न, तथा नेपाललाई शिक्षा–स्वास्थ्यको हबका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। दीर्घकालीन रूपमा अल्झिएका योजनाको अन्त्य गर्दै समयसीमा, जिम्मेवारी र जवाफदेहितालाई कडाइका साथ लागू गर्नुपर्ने उनको सुझाव छ।
भण्डारीले युवालाई देशमै अवसर देखिने वातावरण सिर्जना गर्न, किसानलाई मल, बीउ, बजार र उचित मूल्य सुनिश्चित गर्न, तथा विचौलियाबाट हुने शोषण अन्त्य गर्न सरकारलाई आग्रह गरेका छन्। साथै, सुशासनलाई नारा नभई व्यवहारमा उतार्न, पारदर्शितालाई संस्कृतिका रूपमा विकास गर्न र असक्षम तथा गलत व्यक्तिलाई जिम्मेवारी दिनु नै भ्रष्टाचार हुने मान्यता स्थापित गर्नुपर्ने उनले उल्लेख गरेका छन्।
उनले सीमित राजस्वको प्रभावकारी उपयोग गर्दै खर्च कटौती, प्राथमिकता निर्धारण र उत्तरदायी बजेट प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन्। अन्त्यमा, ‘म’ भन्दा ‘हामी’ को भावना बलियो बनाउँदै विगतका त्याग र बलिदानको सम्मानसहित देश, जनता र प्रजातन्त्रको पक्षमा काम गर्न नयाँ नेतृत्वलाई आग्रह गरेका छन्।

