
सुवास क्षेत्री
दाङ २० फाल्गुन-खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगितामा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाको भलिवल टिमले बिजयी सरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा तुलसीपुुर उपमहानगरपालिकाको टिमलाई २–० को सोझो सेटमा हराउँदै बंगलाचुली गाउँपालिकाले बिजयी सुरुवात गरेको हो । वेष्ट अफ थ्रीको सेटमा भएको खेलमा लगातर १९–२५ र २४–२६ को सेटमा बंगलाचुली बिजयी भएको हो ।
त्यसैगरी दोश्रो खेलमा घोराही उपमहानगरपालिका बिजयी भएको छ । घोराहीले शान्तिनगरलाई २–१ को सेटमा पराजित गर्दै बिजयी सुरुवात गरेको हो । कडा प्रतिष्पर्धात्मक भएको खेलमा घोराहीको टिम २३–२५, २५–१४ र ११–१५ को सेटमा बिजयी हुन सफल भएको थियो ।
प्रतियोगिताअन्तर्गत सोमवार चार वटा खेल हुनेछन । जसमा बिहान साढे सात बजे बबई गाउँपालिका र दंगीशरण गाउँपालिका, साढे ८ बजे राजपुर गाउँपालिका र लमही नगरपालिका, दिउँसो साढे २ बजे बबई गाउँपालिका र राप्ती गाउँपालिका, साढे ३ बजे लमही नगरपालिका र घोराही उपमहानगरपालिकाबीच खेल हुने भएको छ । आइतवारदेखि शुरु भएको प्रतियोगिता फागुनको २५ गतेसम्म सञ्चालन हुनेछ । घोराही समन्वय समितिअन्तर्गत रहेको सहिद मन्चमा भईरहेको प्रतियोगितामा जिल्लाका ९ वटा पालिकाको सहभागीता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितिय हुने टिमले १ लाख २५ हजार, तृयिय हुने टिमले नगद ५० हजार र सान्तोना हुने टिमले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।