काठमाडौं — गृहमन्त्री सुदन गुरुङले आफ्नो नाम जोडेर सार्वजनिक रूपमा फैलिएका विभिन्न आरोपबारे स्पष्टिकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले पछिल्ला दिनमा “२५ लाखको सेयर लुकाइएको” लगायतका विषयहरू जटिल ढंगले प्रस्तुत गरिएको उल्लेख गर्दै तथ्य स्पष्ट रूपमा बुझ्न आग्रह गरेका छन्। उनले धितोपत्र बजारमा कारोबार हुने सेयरमा २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै उल्लेख गरिएको दाबी गर्दै उक्त लगानी लुकाइएको नभई वर्गीकरणको विषय मात्र भएको बताएका छन्।
गुरुङले मन्त्री हुनुअघि गरिएको सेयर लगानीलाई अपराधका रूपमा प्रस्तुत गर्नु गलत भएको उल्लेख गर्दै सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको र त्यसको स्पष्ट रेकर्ड रहेको बताएका छन्। उनले लगानीका लागि लिएको रकम ऋणमार्फत जुटाइएको र सो सम्बन्धी लिखित तमसुक २०८०/०५/२९ कै मितिमा रहेको जानकारी दिएका छन्। साथै, एउटै कम्पनीमा धेरै सेयरहोल्डर हुने भएकाले “विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोप पनि न्यायोचित नभएको उनको भनाइ छ।
“कन्फ्लिक्ट अफ इन्ट्रेस्ट” सम्बन्धी आरोपमा उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धिकरण विभाग भएको स्पष्ट पार्दै प्रक्रिया अघि बढिरहेको र आफूबाट कुनै हस्तक्षेप नभएको बताएका छन्। साथै, लगानीमा जोखिम स्वाभाविक हुने उल्लेख गर्दै पछिको घटनालाई आधार बनाएर अघिल्लो निर्णयलाई दोष दिनु तथ्य नभई सुविधा अनुसारको व्याख्या भएको बताए।
गृहमन्त्री गुरुङले कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने भन्दै सत्य प्रमाणका आधारमा मात्रै स्थापित हुने बताए। उनले अन्त्यमा पार्टीले गर्ने निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको जनाएका छन्।

