प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्युठान जिल्लाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशान्त वैदिक ले काठमाडौँमा रहेका प्युठानीहरूको उत्साहजनक सहभागिताले आफूहरूलाई थप ऊर्जा मिलेको बताएका छन्।

निर्वाचनपछि प्रतिक्रिया दिँदै सांसद वैदिकले काठमाडौँस्थित प्युठानी समुदायको उल्लेखनीय उपस्थितिले आफूहरूलाई जिम्मेवारीबोध गराउनुका साथै आगामी दिनमा अझ सक्रिय भएर काम गर्न प्रेरणा दिएको बताए। उनले यो जित कुनै एक व्यक्तिको मात्र नभई सबै प्युठानी नागरिकहरूको साझा जित भएको उल्लेख गरे।

उनका अनुसार अबको यात्रामा काठमाडौँमा रहेका प्युठानीहरूसँग निरन्तर सहकार्य गर्दै अगाडि बढ्ने योजना रहेको छ। “यो जित तपाईँहरू सबैको हो। हामी तपाईँहरूसँग हातेमालो गर्दै प्युठानको विकास र जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौँ,” उनले भने।

सांसद वैदिकले छिट्टै ‘काठमाडौँ–प्युठान सम्पर्क मञ्च’ स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए। उक्त मञ्चमार्फत काठमाडौँमा बसोबास गर्ने प्युठानीहरूलाई एकीकृत गर्दै उनीहरूको सुझाव, गुनासा तथा आवश्यकता प्रत्यक्ष रूपमा संकलन गर्ने व्यवस्था गरिने बताइएको छ।

यसका साथै नागरिकले सहज रूपमा आफ्ना विचार र समस्या राख्न सक्ने सम्पर्क तथा संवाद संयन्त्र पनि निर्माण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

Avatar
Website |  + posts