राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टी संसदीय दल नेता चयन हुँदै प्रधानमन्त्री नियुक्त हुन बाँकी नै छ।
बालेनलाई प्रधानमन्त्रीका उम्मेदवार घोषणा गर्दै रास्वपा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा होमिएको थियो।
निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी कूल १८२ सिट जित्दै रास्वपा सबैभन्दा ठूलो दल बनेको छ।
अब रास्वपाले बालेनसँग भएको पूर्ववत समझदारीअनुसार उनलाई संसदीय दलको नेता बनाउनुपर्ने हुन्छ। निर्वाचन परिणाम घोषणा भएपछि सांसदहरूको बैठक बसेर दलको नेता चुन्नुपर्ने हुन्छ।
संसदीय दलको नेता बनेपछि बालेनलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन्। बालेन संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री बन्नेछन्। उक्त उपधारामा ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने’ व्यवस्था छ।
बालेनले प्रधानमन्त्री नियुक्त भएपछि प्रतिनिधि सभामा विश्वासको मत लिइराख्नु पर्दैन। किनभने उनी संसदमा बहुमत प्राप्त दलको नेताका हैसियतमा प्रधानमन्त्री बन्नेछन्। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न १३८ सिट जित्नुपर्छ तर रास्वपा एक्लैले चुनावमा १८२ सिट जितेको छ।
संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था छ। उक्त धाराले बहुमत प्राप्त दलको नेतालाई विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छैन। तर प्रधानमन्त्रीले चाहेमा जुनसुकै बेलामा विश्वासको मत भने लिन पाउँछन्।

