प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट पराजित भएका निवर्तमान सांसद सूर्यबहादुर थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै विजयी उम्मेदवार सुशान्त वैदिकलाई बधाई तथा शुभकामना दिएका छन्। उनले वैदिकलाई जनताको अपेक्षाअनुसार सफल कार्यसम्पादन गर्न शुभेच्छा व्यक्त गर्दै निर्वाचन अभियानका क्रममा सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका सबै समर्थकप्रति आभार व्यक्त गरेका छन्।
थापाले यसपटकको निर्वाचनमा खुला गठबन्धन नभए पनि अन्तिम समयमा लोकतान्त्रिक प्रतिस्पर्धाको मर्यादाविपरीत ‘म्याच फिक्सिङ’ शैलीमा भोट लिनेदिने प्रयास भएको आरोप लगाएका छन्। उनले चुनावी अभियानभर आफूविरुद्ध दुष्प्रचार, गालीगलौज र चरित्रहत्या गराउने अभियान चलाइएको दाबी गर्दै त्यसले निर्वाचन परिणाम प्रभावित भएको उल्लेख गरेका छन्।
उनका अनुसार करिब ५० दिनसम्म चलेको चुनावी अभियानमा विकास, एजेन्डा र सामाजिक न्यायका विषयमा बहस हुनुपर्ने भए पनि भ्रमपूर्ण प्रचार हावी भएको थियो। सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको सभापतिको हैसियतमा गरेको कामका कारण पनि आफूविरुद्ध नियोजित हमला भएको उनको भनाइ छ।
थापाले निर्वाचन परिणाम जस्तोसुकै आए पनि प्युठानको विकास र जिल्लाको प्रतिष्ठा बढाउने काममा आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफूलाई मतदान गर्ने न्यायप्रेमी मतदाताहरूलाई विशेष धन्यवाद दिँदै “प्युठान र प्युठानीको जय होस्” भन्दै आफ्नो सन्देश समाप्त गरेका छन्।

