नौबहिनी गाउँपालिकामा आयोजित तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता आज भव्य रूपमा सम्पन्न भएको छ। नौबहिनी खेलकुद विकास समितिको आयोजना तथा नौबहिनी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त प्रतियोगिता माघ ३, ४ र ५ गतेसम्म सञ्चालन भएको थियो।

प्रतियोगितामा पुरुष ब्याडमिन्टन, पुरुष भलिबल र महिला भलिबल गरी तीन विधाका खेलहरू समावेश गरिएको थियो। पुरुष ब्याडमिन्टन तर्फ छब्बीस टिम, पुरुष भलिबल तर्फ आठ टिम र महिला भलिबल तर्फ आठ टिमले सहभागिता जनाउँदै प्रतिस्पर्धा गरेका थिए। स्थानीय तहभित्रका खेलाडीहरूको उल्लेखनीय सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको थियो।

पुरुष भलिबल प्रतियोगितामा वडा नं २ लिघाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी वडा नं १ स्याउलीवाङले दोस्रो स्थान प्राप्त गरेको छ भने वडा नं ७ थात्रा–गोगनपानीले तेस्रो स्थान हात पार्न सफल भएको छ।

महिला भलिबल तर्फ नौबहिनी–१ स्याउलीवाङ प्रथम स्थानमा रहँदा नौबहिनी–५ डाम्रीले दोस्रो स्थान प्राप्त गरेको छ। वडा नं २ लिघाले तेस्रो स्थान हासिल गर्दै प्रतियोगितामा आफ्नो सशक्त उपस्थिति जनाएको छ।

उता, पुरुष ब्याडमिन्टन प्रतियोगिता तर्फ नौबहिनी–३ का खेलाडीले प्रथम स्थान हासिल गरेका छन्। त्यसैगरी नौबहिनी–६ बाहानेका खेलाडीहरूले दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन्।

उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम प्रमुख अतिथि डिलाराम थापाको आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ट अतिथिका रूपमा विष्णु थापा र शिवराज रिजालको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नौबहिनी खेलकुद विकास समितिका अध्यक्ष जनक पुन मगरले गर्नुभएको थियो।

समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत खड्ग विकले विजेता तथा उपविजेता खेलाडीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो।

Avatar
Website |  + posts